अक्सिजन प्लान्टको रकम घरजग्गा व्यवसायीले तिरिदिए
२३ जेठ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम मकवानपुर घर जग्गा व्यवसायी संघले तिरिदिएको छ ।
हेटौँडा उपमहानगरपालिकाको समन्वयमा जडान भएको अक्सिजन प्लान्टको ३८ लाख रुपैंया व्यवसायी संघले तिरिदिएको हो । आइतबार एक औपचारिक कार्यक्रम गरी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अक्सिजन जेनरेटर प्लान्ट ल्याएका बयोधा मेडिकल टेक्नोलोजिका प्रमुख दिपक खनाललाई मकवानपुर घर जग्गा व्यवसायी संघले उपलब्ध गराएको ३८ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका उपमहानगरपालिकाका मेयर महतले अक्सिजन प्लान्ट कतै नपाएको अवस्थामा हेटौँडामा जडान गर्दिएकोमा दिपक खनाललाई धन्यवाद पनि दिनुभयो ।
हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा आफु निकै चिन्तित रहेको र तत्कालै निर्माण गर्न सफल भएको भन्दै मेयर महतले आलोचनाबिच पनि काम गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । यता संघका अध्यक्ष घिमिरेले हेटौँडामा अक्सिजनको अभावमा मानिसहरुको ज्यान जान नपरोस भन्ने विषयमा नगर प्रमुख चिन्तित भएको आफुहरुले महशुस गरेको बताउनुभयो । अक्सिजन प्लान्ट जडान बापतको रकम विनियोजन गर्न केहि समय लाग्ने भएपछि आफुहरुले संयोजन गरेर रकम उठाएको उहाँले बताउनुभयो । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाई लगायकोे उपस्थिति रहेको थियो ।