भेदभाव र छुवाछुत अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्धः मन्त्री बस्नेत

स्वर्णिम खबर
२१ जेष्ठ २०७८, शुक्रबार १७:३०

२१ जेठ, हेटौँडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले भेदभाव र छुवाछुत अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछुत विरुद्धको दिवसको अवसरमा शुक्रबार वक्तव्यमार्फत शुभकामना सन्देश दिदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बस्नेतले यस्ता कुप्रथाको अन्त्य गर्ने जिम्मा सामाजिक बिकास मन्त्रालयको रहेकाले यसतर्फ आफू सचेत भएको बताउँदै ‘जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन २०६८’ कार्यान्वयन गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र व्यक्तिगत रुपमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले छुवाछुत र विभेद अन्त्यको लागि प्रदेशमा आवश्यक पर्ने नीति, कानुन र योजना बनाउन तथा विपन्न र पछाडि परेका दलित समुदायको शिक्षा, रोजगारी र सशक्तिकरणका लागि आफु सँधै तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्ता कुप्रथा अन्त्य गर्दै सामाजिक न्याय कायम गर्न हरेक व्यक्ति तथा सबै जातजाति र समुदायलाई एकआपसमा मिलेर लाग्न पनि समेत मन्त्री बस्नेतले आग्रह गर्नुभएको छ । नेपाल सरकारले २०६३ साल साल जेठ २१ मा नेपाललाई जातीय भेदभाव र छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । सोही दिनको स्मरणमा जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत विरुद्धका दिवसको रुपमा मनाउन थालिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*