मकवानपुरमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ४ जना कोरोना संक्रमणमुक्त
२० जेठ, हेटौँडा । मकवानपुरमा बिहिबार ९६ जना कोरोना संक्रमित थपिएका छ ।
२ सय १३ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षण गरिएकोमा ९६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमित हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका ४८ जना रहेका छन् । त्यस्तै मनहरी गाउँपालिकाका १८ जना, थाहा नगरपािलकाका ११ जना, भीमफेदी गाउँपालिकाका ८ जना, कैलाश गाउँपालिकाका ४ जना, बकैया र राक्सिराङ गाउँपालिकाका ३–३ जना र बागमती गाउँपालिकाका एक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ४४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज होमआइसोलेसनबाट ७४ जना र आइसोलेसनबाट ३० जना गरी १ सय ४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ७ सय १९ जना पुगेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । मकवानपुरमा हालसम्म कोरोनाको कारण ९८ जनाको मृत्यु भएको छ ।