यात्रा संस्मरण , अपुरो यात्रा, पूर्ण अनुभुती
जीवनको उर्जाशील यौवन कलासाधनामा बित्यो । नाट्य बिधामा रुची भएकै कारण २०५४ सालदेखि ०५६ सालसम्म सडक नाटकहरुमा अभिनय गरिरहे । काठमाडौको नागढुंगादेखि जनकपुरको जलेश्वरसम्मका चोकचोकमा मेरो अभिनयको तारिफ गर्ने मान्छेहरुको जमात भेटिन्थ्यो त्यतिबेला । राष्ट्रिय नाचघरमा एकबर्षे अभिनय प्रशिक्षण लिएर केही समय काठमाडौँको रगंमञ्चमा रमाए । २०५८ सालमा हेटौँडाका केही साथीहरु मिलेर हेटाँैडा च्यानल सञ्चालन गर्ने सल्लाह भयो । टेलिभीजन सञ्चालनको जिम्मेवारी बोकेर हेटौँडा आए । त्यसयता यहाँको टीम टेलिभीजन सञ्चालनमै मेरो दैनिकी बितीरहेको थियो । टेलिशिरियल लेखन निर्देशन, फोनलाईभ लगाएतका कार्यक्रमहरु निर्माण गर्दैगर्दा सिंगो टेलिभिजनको जिम्मेवारी सम्हाल्न अवसर मिल्यो । त्यही जिम्मेवारी बहन गरिरहेकै थिए । जिल्लामै पहीलो टेलिभिजन स्थापना गर्ने अवसरले यस क्षेत्रमा विशेष अनुभव प्राप्तभयो । टेलिभिजनको जिम्मेवारीले घुमफीरको अवसर भने पाइएको थिएन । आदरणीय दाजु लक्ष्मीचरण श्रेष्ठ र साथी उत्सव चौलागाईले सगरमाथा बेस क्याम्प घुम्न जाने प्रस्ताब गर्दा असाध्यै खुसी लाग्यो । टेलिभिजनका पर्दामा देखेको सगरमाथा आफ्नै आँखाले नियाल्ने अवसरलाई तत्काल स्विकार गरे । सिमभज्याङमा बाक्लो हीउँ पर्दा हिउ खेलेको दृश्य एकाएक स्मृतीमा आए ।
तेन्जीङ शेर्पा र एडमण्ड हिलारीले पहीलोपटक आरोहण गरेको विश्वकै अग्लो चुचुरो सगरमाथाको आधारक्षेत्र पुग्ने अभिलाषाले उद्वेलीत बनाई रह्यो । काठमाडौँबाट लुक्लाका लागि ६ वटा प्लेन टिकट बनाईयो । यात्रामा निस्कने अघिल्लो दिन साथी उत्सब चौलागाई नजाने परिस्थिती बन्यो । साथी नजाने कुराले मनखल्लो भयो । यद्यपी यात्राको तयारीमा जुट्यौं ।
२०७४ को वडादशैँको टीका लगाई मान्यजनबाट आशीर्बाद लिएर यात्रामा निस्कने सहमती भयो । ब्यग्रपतिक्षाको घडी हाम्रा सामु आईपुग्यो । टिका लगाई आआफ्ना झिटीकुन्टा बोकी हामी ५ जना यात्राका लागी निस्कीयौँ । म रामशरण दुलाल, लक्ष्मीचरण श्रेष्ठ, भिमसागर गुरागाई, भाष्कर पौडेल र रबिन पाठक टिकाको दिन ४ बजे चौघडाबाट टाटासुमो चढ्यौँ । भोलीपल्ट काठमाडौबाट लुक्लाका लागि प्लेन टिकट तय भएको थियो । बेलुकी काठमाडौँस्थित सुन्धाराको एक होटलमा बास बस्यौँ । भोलीपल्ट सबेरै एयरपोर्ट पुगीयो । विश्वको अग्लो चुुचुरो सगरमाथा मनमा झल्झल्ली स्मृतीमा आउन थालीसकेको थियो । मौसम प्रतिकुलताका कारण लुक्लाका लागि कुनै पनि बिमानले उडान भर्न सकेन । भारी मन निरास हुँदै हामी एयरपोर्टबाट फर्कीयौँ । तिनदिनसम्म लुक्लाका लागि प्लेन नजाने जानकारी आयो । त्यसपछि हामी चावहिलवाट सुमो चढेर सल्लेरी जाने तय भयो । त्यसदिन हामी चावहिलमा बास बस्यौ । प्लेनबाट आधारशिबीर पुग्ने योजना विफल भएसंगै विश्वकै जोखीमयुक्त लुक्ला एयरपोर्टमा अवतरण गर्ने हाम्रो अभिलाषा पूरा हुन सकेन । २०७४ आश्विन १६ गते बिहान प्रति ब्यक्ती एकहजार चारसय रुपैयाँ भाडा तिरी सुमोमा सोलुखुम्बुको सल्लेरी फाप्लुको यात्रा सूरु गर्यौं । २०७४ आश्विन १७ गते विहान ५ बजेवाट हाम्रो पैदलयात्रा सोलुखुम्वुको फाप्लुवाट शुरुभयो । त्याहाँबाट फेरा हुँदै टाक्सिन्धु पुगियो । बिहानको खाना टाक्सिन्धुमा खाईयो । यहाँको उचाई २९३० मिटर थियो । बिहानको खाना खाएर फेरी हाम्रो यात्रालाई निरन्तरता दिदै हामी नुनथला पुग्यौ । त्यस स्थानमा पुग्दा रमाईलो लाग्यो । यसै स्थानमा बास बस्ने इच्छा थियो । लक्ष्मीचरण दाईले इच्छा ब्यक्त गरिहाल्नुभयो । तर समय बाँकी रहेकोले अगाडी बढ्ने सल्लाह भयो । हामी बास बस्नको लागि फुलेली भन्ने ठाउँमा पुग्यौ । जिवनको पहिलो अनुभव सिल्पीङ ब्यागको सुताई साह्रै रमाइलो महशुस भयो । तर रात भर निद्रा भने लागेन । होटल नभेटिएका कारण हामी एउटा घरमा आश्रय लिन पुगेका थियौँ । स्लिपीङब्यागमा उकुस मुकुस हुँदै त्यो रात काटियो । भोलीपल्टको यात्रा अगाडी बढ्यो । हिडाईको दोस्रो दिन बिहानको चिया हामीले जुभिङमा पियौँ । खानाखान खरिखोला पुगियो । खाना खाएर त्यस ट्रेकिङ रुटमा पर्ने मनोरम दृश्यहरुलाई नियाल्दै बुक्सा, बुप्साडाँडा हँुदै दिउँसोको खाजा बस्मे भन्ने ठाउँमा पुगेर खायौँ । त्यसपछि हाम्रो यात्रा अगाडी बढ्दै गयो । यात्रामा हिडाईको रफ्तार फरक हुन थाल्यो । कोही साथी अगाडी कोही पछाडी गर्दै हामी हाम्रो गन्तब्यमा लम्कीरह्यौँ । कारिलापास २८८५ मिटर उचाईमा पर्छ । हामी कारिलापास पुग्दा झमक्क साँझ परेको थियो । त्याहाँबाट मित्र रबिन पाठकलाई सम्पर्क गर्दा उनी पैया पुगी सकेको जानकारी भयो । कारिलापासबाट पैया पुग्न हामी चार यात्रीलाई सम्भव भएन । हामी कारिलापासमा बास बस्यौ । रविन भने पैयामा नै बास बसे । २०७४ आश्विन १९ गते बिहिवार कारिलापासबाट तेस्रो दिनको यात्रा सुरु भयो । पैदल यात्रको थकाई भन्दा यात्रामा भेटीएका प्राकृतिक मनोरम दृश्यहरुले हामीलाई उर्जा भरिरह्यो । थकाई जोडले लाग्थ्यो । तर हिडाइ भने रोकीएन । रबीनलाई पैयामा भेटीयो । हिजो छुटेका ५ यात्री पुनः एक भयौँ । हाम्रो यात्रा रातामाटा हुदै बिहानको खाना सुर्केमा पुगेर खायौ । साथी भाष्करको पैतालामा ठेला उठेर फुटी सकेको रहेछ । सुर्केमा खाना खाँदा होटल साहुनीले हेलीकोप्टर चार्टर गर्न पाइने जानकारी दिईन् । हामी बिच छलफल सुरुभयो ।
हिड्न धेरै रुचाउने अनि नेपालका धेरै स्थानहरुमा ट्रेकिङ गरिसक्नुभएका अनुभवी ट्रेकर लक्ष्मीचरण दाई पैदलै जाने पक्षमा हुनुहुन्थ्यो । अरु साथीहरु पैदल जान चाहान्थे । मुस्ताङको मुक्तीनाथसम्म बाईकमा यात्रा गरेको बाहेक अरु अनुभव नभएकाले मलाई भने पैदल हिड्ने जाँगर मरिसकेको थियो । विकल्प भेटेपछि यसको प्रयोग गरौँ भन्ने मेरो मतलाई सबै साथीले स्विकारीदिए । मनमनै सबै साथीलाई धन्यबाद दिन मन लाग्यो । तर धन्यबाद भनिहाल्न आँट आएन । ३ दिनको लगातारको हिडाईले अत्याएको मनले केही शीतलता महशुश गर्यो । जिन्दगीको पहिलो अनुभव ट्रेकिङ अनि त्यही माथी हेलीकोप्टरको यात्रा मेरा लागि दुबै पहिलो अनुभव थियो । ७५ हजारमा हेलीकोप्टर चार्टर भयो । प्रतिब्यक्ति १५ हजार उठाईयो । दाजु भिमसागर गुरागाईले बाँकी यात्राको प्रबन्ध मिलाउनुभयो । हामी सुर्केबाट अब पाङबोचेसम्म आकाश मार्ग हुँदै पुग्ने भयौ । हिडेर जाने हो भने ३ देखी ४ दिन लाग्ने बाटो हामीले १४ मिनेटमै पूरा गर्यौँ । हामी समून्द्री सतहदेखि तीनहजार ९ सय ८५ मिटरको उचाइमा पुगी सकेका थियौ । एक्कासी यति हाईटमा आईपुगेकोले होला मलाई केही समय गाह्रो महशुस भयो । शास फुल्ने हिड्न गाह्रो हुने जस्ता समस्या देखियो । तर हिड्दै जाँदा बिस्तारी सहज हुँदै गयो । त्यो दिन हामी धेरै नहिडी नजिकै रहेको सोमारे भन्ने ठाउँमा बास बस्नपुग्यौ । अबको यात्रा अझै रमाईलो हँुदै गयो । अग्ला अग्ला हिमाल हाम्रा नयनमा नाच्न थालीसकेका थिए । निलो आकाश भित्र सेता चम्कीला गगनचुम्बी हिमालहरु मुस्कुराईरहेको यो दृश्य जीवनमा पहीलो पटक मेरा नयनले बिचरण गरिरहेका थिए । अरु साथीहरु समेत उत्साहीत देखिए ।
यो फलानो हिमाल, त्यो फलानो हिमाल भन्दै हामी एक अर्कालाई आफ्नै आँखा अघिका हिमाल देखाईरहेका थियौँ । साँझपख हामी बसेको होटलका भाईले घोडा लिएर आए । हामीले घोडा चढेर फोटो खिच्यौँै । साँझ पर्दै गयो । चिसो पनि बढ्दै गयो । हामी खाना खाएर सुत्यौँ । खाना खाने बेला होटलवाला साहुले हामीलाई यो स्थानवाट राती १२ बजे ताराहरु नजिकै देखीने कुरा भनेका थिए । रातको १२ उठेर हामीले आकासमा ताराहरु हे्रयौँ । त्यो स्थानमा बसेर आकाशमा तारा हेर्दा अन्तरीक्षको यात्रा गरिरहेको अनुभुती भयो । जिन्दगीको एउटा अबिश्मरणीय क्षणले मन आल्हादित भईरह्यो । आश्विन २० गते सोमारेबाट फेरी हाम्रो यात्रा अघि बढ्यो । फेरुचेमा पुगेर नास्ता ग¥यौँ । फेरुचे साह्रै रमाईलो लाग्यो । निलो आकाशमा सेतो बादल, घुम्टो उडेकी दुलहीले आफ्नो दुलाहलाई चिहाईरहेको भान हुन्थ्यो । हामी दिउँसो करीब १ बजे थुक्ला भन्ने ठाउँमा पुग्यौ । यहाँको उचाई ४६२० मिटर रहेछ । यहाँबाट उकालो चढनुपर्ने रहेछ । नाकै ठोकिएला जस्तो उकालो हिड्दै लुबुचेमा पुगियो ।
यही आजको वास बस्ने निधो गरियो । यहाँ एक थर्मस तातोपानीको ९०० रुपैयाँ पर्दो रहेछ । अग्लो स्थानमा पुगेपछि हिउँ खेल्न पाईन्छ भन्ने लाकेको थियो । ४९ सय मिटरको उचाईमा पुग्दा समेत हिउँ स्पर्श गर्ने अवसर मिलेन । टाढाको हिमालकै हीउ हेररेर रहर मेटाइयो । २०७४ आश्विन २१ गते बिहान सगरमाथा आधार सिबिरको अन्तिम बासस्थान भएको स्थान गोरक्सेप पुगियो । गोरक्सेपको उचाई ५१८० थियो । त्याहाँ नास्ता गरेर हामी आधार शिबिरको लागि प्रस्थान गरयौँ । एकघन्टाको हिडाई पछि मलाई टाउको दुख्न थाल्यो । मेरो अवस्था देखेपछि साथीहरुले मलाई अघि नबढ्न सुझाब दिए । बाँकी ४ जना साथीहरु भने आधारक्षेत्रका लागि अघि बढे । ३ जना साथीले पनि ३० मिनेटभन्दा बढी दुरी पार गर्न सकेनन् । उनीहरु पनि गोरेक्सेपमै आईपुगे । लक्ष्मीचरण दाई भने अदम्य साहसका साथ आधार शिबीर र कालापत्थर पुगेर फर्कीए । आधार शिबीर नजिकै पुगेर समेत सगरमाथा छुने मेरो सपना साकार हुन सकेन । यद्यपी सगरमाथालाई आफ्नै नयनले स्पर्श गरेको त्यो क्षण अविश्मरणीय रहीरह्यो । पहिलो पटक ५ हजार ३ सय मिटर उचाईमा पुगेर एउटा इतिहास बनाए । क्रमशः ।