मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराएको ५० लाख फिर्ता
१७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराएको ५० लाख रुपैयाँ फिर्ता लिने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाको आठौं अधिवेशन सुरुवातको शुभकामना दिने क्रममा सम्बोधन गर्दै फिर्ता लिने उक्त निर्णय जानकारी गराउनुभएको हो । मदन भण्डारी फाउन्डेसनलाई आर्थिक कार्यविधि र ऐनबिनै रकम उपलब्ध गराएको भन्दै प्रतिपक्षी दलहरुले व्यापक विरोध गरेपश्चात् प्रदेश सरकार उक्त निर्णयबाट पछाडि हट्न बाध्य भएको हो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विद्युतीय बस सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिसकेको, आवश्यक भौतिक पूर्वाधार निर्माण अगाडि बढेको विषयमा सदनलाई तथ्यगत रुपमा जानकारी गराउने प्रतिबद्धता समेत जनाउनुभयो । यता प्रमुख प्रतिपक्ष दलले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट समावेशीता र आवश्यकताको आधारमा नआउने पास हुन नदिने चेतावनी दिएको छ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले नेताको घर हेरेर बजेट बनाइएको भन्दै पास हुन नदिने बताउनुभएको हो । पूर्वमन्त्री जम्मकट्टेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै लाइन बागमतीमा देखिएकोले बजेटको विषयमा प्रश्न उठ्दा र हाउस नचलेपछि प्रदेशसभा विघटन गर्ने संकेत देखिएको बताउनुभयो । कानुनी व्यवस्था अनुसार तोकिएको समयमा प्रिबजेट, नीति तथा कार्यक्रम र पूर्णबजेट सदनबाट ल्याउनुपर्ने भएका कारण सरकार केही लचक भएर विपक्षी दलको माग सम्बोधन गरेको हो ।