लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जानु उपयुक्तः प्रधानमन्त्री ओली
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनितिक झेली’ भएको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै दलिय प्रणालीमा दलको अनुसासन भन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम भएको बताउनुभएको हो । आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको साध्य नभएको भन्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गर्नुभयो । आफुले सांसदहरुको अस्वस्थ्य गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नेहरुले जनताको सार्वभौम सत्तालाई अस्वीकार गरेको बताउनुभयो । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको पहिलो डोज लगाएकाहरूलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिलेसम्म नेपालमा ३२ लाख २८ हजार डोज कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको र त्यसमध्ये १० लाख डोज खरिद गरिएको भन्दै उहाँले अबको केही समयमै खोप सहज हुने बताउनुभयो । यस्तै उहाँले अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न पर्याप्त बजेट पठाइएको समेत बताउनुभयो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि कोभिड सङ्कट व्यवस्थापन अध्यादेश जारी गरिएको भन्दै उहाँले अध्यादेशले स्वास्थ्य संकटकाल लगाउन बाटो खोलेको बताउनुभयो । विगत ३ बर्ष यता नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । उहाँले भौतिक पुर्वाधार, सडक ,पुल निर्माण , खानेपानी, भुकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासिक र पुरातात्वीक संरचनाको पुननिर्माण गर्ने काम भएको, सुरक्षित आवास निर्माण, सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरि काम सुरु भएको लगायतका कामहरुको विवरण नै प्रस्तुत गर्नुभयो ।