बागमती प्रदेश मातहातका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिंदै
११ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापनाको तयारी थालेको छ ।
एक साताको समय राखेर अक्सिजन प्लान्ट राख्न सरकारले टेण्डर आह्वान गरेसँगै अक्सिजन प्लान्ट राख्ने तयारी थालेको हो । कोभिड महामारीलाई मध्यनजर राख्दै सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन मार्फत एक हप्ताको समय सीमा राखेर टेण्डर आह्वान गरेको छ । मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडौं टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ । प्रदेश मातहतका अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा प्लान्ट निर्माण गर्ने निर्णय अनुसार प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानाएको छ । प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन रहेको र बाकी अस्पतालमा स्थापना गरेर अस्पतालहरुलाई सुबिधायुक्त बनाउन अक्सिजन प्लान्ट राख्न लागिएको सामाजिक विकास मन्त्री सरस्तवी बस्नेतले जानकारी दिनुभयो । मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ ।