हेटौंडा अस्पतालमा आइतबारबाट अक्सिजन उत्पादन सुरु
९ जेठ, हेटौँडा । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन आइतबारबाट सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लानट निर्माण गरेर मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभएसंगै उत्पादन पनि सुरु भएको हो । अस्पतालमा एक साता अघि देखि अक्सिजनको अभाबका कारण कोरोना भाइरस संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछी उपमहानगरपालिकाले प्लान्ट स्थापना गर्दै आजबाट उत्पादन सुरु गरेको हो । कोरोनाका कारण गम्भिर बिरामी भएर अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन दिनकै लागि समस्या भएपछी तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले वताउनुभयो । उपमहानगरपालिकाको समन्वयमा काठमाण्डांै लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट हेटौंडा अस्पतालमा जडान गरिएको हो । अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ शिलीण्डर अक्सिजन उत्पादन गर्ने छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाण्डौबाट आएका प्राबिधिकले दिनरात नभनीकन काम गरेपछी अस्पतालमा प्लान्ट ल्याएको दुई दिनमानै उत्पादन सुरु गर्न सफल भएको मेयर महतले वताउनुभयो । अहिले हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमणका बिरामीको उपचार भइरहेको छ । उपमहानगरपालिकाको बिशेष पहलमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईले वताउनुभयो । उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने काम दिनहुँ गर्दै आएको छ । हेटौंडाको गौरीटारमा आइसोलेसन र गोरक्षश्वरमा स्वाब संकलनको काम गर्दै आएको छ ।