राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय
८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकाल्दै कानुनी लडाई लड्न निर्णय गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको बताउनुभयो । प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतको भनाई छ । नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले नेपाल कांग्रेस, नेकपा माओवादी केन्द्रका साथै नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा राष्ट्रिय जनमोर्चाका नेताहरुको बैठक बस्दै छ ।