सरकार ढाल्न आफ्नै पार्टीका व्यक्ति लागेः प्रधानमन्त्री ओली
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्रैबाट विपक्षी सँग मिलेर सरकार ढाल्न खोजेको आरोप लगाउनुभएको छ ।
बालुवाटरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले २७ जना सांसद अनुपस्थित नभएर सरकार ढाल्न आफ्नै पार्टीका व्यक्ति लागेको टिप्पणी गर्नुभयो । भइरहेको सरकार नढाली नहुने, ढाल्न पनि नसक्ने सरकार बनाउन पनि नसकेको बताउनुभयो । सरकार ढाल्ने खेलका कारण अरू काममा ध्यान केन्द्रित हुन नसकेकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेको उहाँले बताउनुभयो । आफूले विश्वासको मत पाउने नदेखेपछि छिटै अर्को सरकार बनोस् र बजेट, नीति तथा कार्यक्रम ल्याउन सजिलो होस् भनेर धारा ७६ को उपधारा (५) अनुसार सिफारिस गरिएको प्रधानमन्त्रीको दाबी छ । उहाँले हिजोको आह्वान बाहिर आएपछि बहुतै कृत्रिम नाटकीय व्याख्या भएको जिकिर पनि गर्नुभयो । सरकारमाथि प्रहार र काम गर्न नदिने वातावरणकै कारण यसअघि संसद् विघटन गरिएको र यदि त्यहीअनुसार सबै दल जुटेका भए यतिबेला नयाँ संसद् र सरकार पाइ देशले गति लिने भए पनि आफ्नो त्यो प्रयास सफल नभएको उहाँले बताउनुभयो ।