प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

स्वर्णिम खबर
६ जेष्ठ २०७८, बिहीबार १३:५७

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन – पत्र बुझाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रतिनिधि मण्डलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउनुभएको हो । १५ बुँदे ज्ञापन पत्र बुझाउँदै कांग्रेसले जनतालाई कोरोना संक्रमणबाट बच्न खोपको सुनिश्चितता गर्न तथा खोप आयातका लागि कुटनतिक पहल तिव्र पार्न ध्यानाकर्षण गराएको छ । नेता प्रकाशशरण महतले खोप आपूर्ति गर्ने व्यवस्था विचौलिया रहित र पारदर्शी ढंगले गराउन पनि माग गरिएको जानकारी दिनुभयो । कांग्रेसले पहिलो चरणमा स्वास्थ्य सामाग्री आपूर्तिमा देखिएको अनियमितता र भ्रष्टाचार तथा र अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिशनतन्त्रको छानविन गर्न माग गरेको छ । अक्सिजन कन्सनट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरको आपूर्तिलाई सहज पर्याप्त र पारदर्शी बनाउन, मुलुकभरका अस्पतालहरुमा बेड, अक्सिजन, आइसियु र भेन्टिलेटर सहित आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको नेता महतले बताउनुभयो । संक्रमणबाट बालबालिकालाई जोगाउन विशेष सचेतना अभियान चलाउँदै बालबालिकाका लागि छुट्टै आइसियु बेड लगायत आवश्यक उपचार पूर्वाधार तयार राख्न माग समेत गरिएको छ । बढीभन्दा बढी पिसिआर परिक्षण गर्न र स्वाव संकलन गर्न घुम्ति टोलीको व्यवस्था गरी छिटो परिक्षणको नतिजा दिनुपर्ने, नीजि अस्पतालहरुले चर्को शुल्क असुलेको भन्दै तिनको नियमन गर्नुपर्ने तथा निम्न आय भएकाहरुलाई निः शुल्क उपचारको व्यवस्था गर्नुपर्ने, अक्सिजन लगायत आवश्यक औषधिहरुको आपूर्तिमा देखिएको कार्टेलिङ, कालोबजारीलाई तत्काल रोक्न पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यसैगरी ज्ञापनपत्रमा कोभिड १९ बाट प्रभावित श्रमिक वर्ग, श्रमजिवी पत्रकार, साना तथा मध्यमस्तरका व्यवसायीको जीवन निर्वाहलाई लक्षित गरी आर्थिक प्याकेज ल्याउन ,बन्द रहेका उद्योगको पुनरुत्थानका लागि पुर्नकजा र व्याजमा सहुलियत दिने व्यवस्था मिलाउन भनिएको छ । त्यसैगरी हरेक प्रदेशमा सुविधा सम्पन्न अस्पताल र हरेक जिल्लामा न्यूनतम सुविधायुक्त स्वास्थ्य पूर्वाधारको सुनिश्चित गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । कांग्रेसले आइसोलेसन बसेका संक्रमितलाई स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श दिन प्रत्येक जिल्लामा स्वास्थ्य परामर्श सेवा हटलाइनको व्यवस्था गर्न, तत्काल प्राविधिक स्वास्थ्य सचिवको नियुक्ति गर्न, कोभिड नियन्त्रणको लागि प्रभावकारी संयन्त्रको व्यवस्था मिलाउन र प्रदेश सरकारहरुको कोभिड १९ संक्रमण रोकथाम र उपचार संयन्त्रलाई मजबुद बनाउन सकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी सीमा नाका र अन्तर्राष्ट्रिय हवाई अड्डाबाट आवातजावत गर्नेहरुको पिसिआर परिक्षण गर्नुको साथै स्वास्थ्य मापदण्डको पालनाबारे नियमन गर्न र विदेश जाने श्रमिकहरुको पिसिआर परिक्षणमा गरिएको कार्टेलिङको अन्त्य गर्न समेत माग गरिएको छ । नेपाली कांग्रेसले कोभिड १९ को संक्रमणबाट बच्न मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाईका साथ लागु गर्न अनुगमन संयन्त्र मजबुद बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*