राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु, भर्चुअल माध्यमबाट नतिजा सार्वजनिक गर्ने

स्वर्णिम खबर
६ जेष्ठ २०७८, बिहीबार १२:०१

६ जेठ, हेटौँडा । राष्ट्रिय सभा उपनिर्वाचन अन्तर्गत वागमती प्रदेशतर्फ रिक्त रहेको सदस्य पदमा मतदान सुरु भएको छ ।
हेटौँडा ४ भुटनदेवी उच्च माविमा आज बिहान देखि मतदान सुुरु भएको हो । मतदान सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट बागमती प्रदेका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका थिए । निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी ३४८ मतदाता छन् । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*