बागमती प्रदेश सरकारद्वारा ११ वटा पुलको एकसाथ उद्घाटन
३ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले एकैसाथ ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको उद्घाटन गरेको छ ।
प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको मुख्यमन्त्री डोरमणी पौडेलले सोमबार भर्चुअल माध्यमबाट एकै साथ उद्घाटन् गर्नुभएको हो । प्रदेशको मेलम्ची चोक्यु पुल, भक्तपुरको महादेब खोला पुल, सिन्धुपाल्चोकको याम्वालिंग झोलुङ्गे पुल, भक्तपुरको मजुवा खोला पुल, काठमाण्डौंको बिष्णुमति खोला पुल, काठमाण्डौकै धोबी खोला पुल, चितवनको भवानीपुर उत्तराखण्ड भण्डार सडक पुल, चितवनको चानौनी अमृतनगर दाद्रेनी पुल, नुवाकोटको ढुंगे खहरे कल्भर्ट लिखुखोला पुल, धादिङको डुडुरे खोला पुल र धादिङकै पलाखु खोला पुल निर्माण सकिएपछी सोमबार एकै साथ उद्घाटन् गरिएको हो । ३ सय ९७ मिटर लम्बाइको एक दर्जन पुल निर्माण गर्नका लागि प्रदेश सरकारको २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।