आर्थिक स्रोतको अभावमा नागरिकले ज्यान गुमाउन नपरोस्ः प्रधानमन्त्री ओली
२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसीको आईतबार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनैपनि नागरिकको ज्यान जाने अवस्था श्रृजना हुन नदिन निर्देशन दिनुभएको हो । उहाँ झन्झटिला प्रक्रिया छोट्याएर कानुन मिलाएर, प्रक्रिया मिलाएर भएपनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा कोभिड १९ संक्रमणको महामारीसंग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउने बारे पनि छलफल भएको जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले तत्काल देखिएको अक्सिजन आपुर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमाण्ट चार्ज लगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले लिक्वीड अक्सिजन ल्याउन भारतसंग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्यांकरहरुको प्रबन्ध गरिने बताउनुभयो । उहाँले सरकारको तयारी भन्दा रोगको प्रकृति र आक्रामक्ता पनि उच्च भएकाले गएको दुई हप्ता निकै कठिन भएको बताउनुभयो ।