काठमाण्डौ उपत्यकामा निषेधाज्ञालाई जेठ १३ गतेसम्म लम्ब्याईयो
२९ वैशाख, काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याईएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजे सम्मको समय तोकिएकोमा १ घण्टा बढाएर १० बजे सम्म पुर्याईएको छ । तर यो समयमा किनमेल गर्ने र सम्बन्धीत व्यवसायीले स्वास्थ्य सर्तकताका कामदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । स्वास्थ्य मापदण्ड प्रयोग भए÷नभएको अनुगमन गरिने छ । अब विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा रोक लगाईएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरि गर्ने काममा भने रोक लगाईने छैन । यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गते सम्म र दोश्रो चरणमा बैशाख २९ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मापदण्ड पालना भए नभएको, मास्क प्रयोग र अनावश्यक हिडडुल गर्नेहरुमाथि कडा अनुगमन गरिने र मास्क नलगाउने प्रति जरिवाना गर्ने , अत्यावश्यक काम बाहेक हिडडुल गर्नेलाई होल्डीङमा राखिने बताउनुभयो । खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतले पास को आधारमा र पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गरिने छ । मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो ।