कोरोना संक्रमणबाट एकैदिन २ सय २५ जनाको मृत्यु
२८ वैशाख, काठमाडौं । नेपालमा मंगलबार ९ हजार ४ सय ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा संक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ सय २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार देशभरबाट डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ४८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ७२ हजार ७२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।