टेकु अस्पतालले पिसिआर रोक्यो
२८ वैशाख, काठमाडौं । काठमाण्डौको टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण रोकेको छ ।
अस्पतालले मुख्य प्रवेशद्धारमा नै पिसिआर परिक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरु त्यसै फर्किएका छन् । मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ “विशेष काराण बस अर्को सुचना नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यसबाट आम सर्वसाधरणमा परेको असुविधाको लागि क्षमाप्रार्थी छौ । ”अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामाग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो । यसैबीच, संघीय राजधानी काठमाण्डौकै अस्पतालमा पनि विरामीहरुले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ । कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने विरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य भएका छन् ।