प्रधानमन्त्री विश्वासको मत लिन असफल

स्वर्णिम खबर
२७ बैशाख २०७८, सोमबार १८:११

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत आएको हो । सरकारको नेतृत्वका लागि आफु नै उपयुक्त पात्र रहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराउनुभएको थियो । विश्वासको मतको प्रस्तावमाथि भएको मतदानको परिणाम सुनाउदै सभामुख अग्नि प्रसाद सापकोटाले संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको प्रस्तावको पक्षमा ९३ मत परेको र सो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको बहुमत नरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो ।
प्रधानमन्त्री ओलीमाथि विश्वास छ भनी ९३ जना सांसदले मतदान गरेका छन् भने प्रधानमन्त्री ओलीप्रति विश्वास छैन भनी १ सय २४ सांसदले मतदान गरेका छन् । १५ जना सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् । आजको बैठकमा २ सय ३२ जना सांसद उपस्थित थिए । मतदानमा प्रधानमन्त्री ओलीकै दलका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरु भने बैठकमा नै उपस्थित भएनन् । नेकपा एमालेले संसदीय दलले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय नै गरेका थिए । मधेश केन्द्रित दल जसपाका सांसदहरु भने पक्ष र विपक्षमा विभाजित थिए । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने संबैधानिक व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*