प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिंदै
२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
आज दिउँसो १ बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नु भएको हो । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रस र माओवादी केन्द्रले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।प्रधानमन्त्री ओलीको पद जोगाउने साँचो बोकेको जनता समाजवादी पार्टीले पनि विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान नगर्ने भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ । संसदमा नेकपा एमालेको मात्रै १२१ मत रहेको छ भने विश्वासको मतमा बहुमत पुग्नका लागि १ सय ३६ मत मत आवश्यक पर्छ । ओलीलाई अन्य दलबाट १५ सांसदको मत आवश्यक पर्छ । जुन अहिलेसम्मको राजनीतिक घटना क्रमले नपुग्ने देखिएको छ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सम्पूर्ण प्रक्रिया सकेर आज नै अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।यस्तै, बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि विश्वासको प्रस्तावमाथि मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।