ओलीलाई कांग्रेसको जवाफः विश्वासको मत दिन सकिंदैन
२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।
आगामी २७ गते प्रतिनिधिसभामा आफुले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई काग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो । सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमले सरकार लोकतान्त्रिक मुल्य मान्यताप्रति प्रतिवद्ध नदेखिएको भन्दै यस्तो अवस्थामा कांग्रेसले सहयोग गर्न नसक्ने जानकारी गराएको नेता प्रकाशशरण महतले जानकारी दिनुभयो । नेता महतका अनुसार, सभापति देउवासंगको भेटमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीका लागि दुवैले संगै लडेको स्मरण गर्दे त्यसको रक्षाका लागि आफुलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । जवाफमा आफुहरुले सरकारले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने व्यवहार नदेखाएको र अहिलेसम्मका गतिविधिका आधारमा समर्थन गर्ने अवस्था नरहेको बताएको नेता महतले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई लोकतान्त्रिक मुल्य र मान्यताका विषय भनाईमा मात्रै नभई व्यवहार देखाउन भनेको नेता महतले बताउनुभयो । हम्रो उद्देश्य नै उहाँ(केपी ओली)लाई असफल गराउने भनिसकेपछि समर्थन गर्न सक्ने अवस्था रहेको नेता महतले बताउनुभयो । भेटमा नेपाली कांग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको, विरामीले उपचार नपाएको, अक्सिजनको अभाव, संकटमा विभिन्न किसिमका विचौलियाहरुको चलखेल लगायत कुराहरुलाई गम्भीरताका साथ लिएर प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीलाई सुझाएको नेता महतले बताउनुभयो ।प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा सहितको टोली लिएर सभापति देउवालाई भेट्न उहाँकै निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।