माओवादीद्वारा समर्थन फिर्ता , ओली सरकार अल्पमतमा
२२ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधबार माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले समर्थन फिर्ताको पत्र संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई बुझाउनुभएको हो । नेकपा माओवादी केन्द्रले यसअघि सरकारलाई दिएको विश्वास फिर्ता लिएको जानकार गराएसंगै संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीका एकपछि अर्क संविधान प्रतिकुलका कदमहरुले राष्ट्रियता, लोकतन्त्र, जनजीवीका लगायतका मुद्दामा गम्भीर खतरा पैदा भएर अन्ततः राष्ट्रिय स्वाधिनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले समर्थन फिर्ता लिएको बताउनुभयो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसंगै सरकार अल्पमतमा परेको छ । आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बाट विश्वासको मत लिने कार्यक्रम छ ।