मकवानपुरमा बैशाख १९ गते राती १२ बजेबाट निषेधाज्ञा जारी हुने
१८ वैशाख, हेटौंडा । मकवानपुर जिल्लामा बैशाख १९ गते राती १२ बजेबाट निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यनजर गर्दै वैशाख १९ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिका भित्र निषेधाज्ञा जारी हुने प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । उहाँका अनुसार लकडाउन गरिएको क्षेत्रमा अत्यावश्यक बाहेक आफु बसेको घरबाट बाहिर निस्कन पाईने छैन् । बैठकले उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द गर्ने निर्णय गरेको थियो । बैठकले सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको थियो । यसअघि केन्द्रले मकवानपुरमा संक्रमण बढ्न र भिडभाड बढ्न नदिन सवारीमा जोर बिजोर प्रणाली लागू गर्नुको साथै जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि मकवानपुरमा रहेका सम्पुर्ण शैलुन, ब्युटिपार्लर र मदिरा व्यवसाय अर्को सुचना नआएसम्मको लागि बन्द गरेको छ ।