ओली र देउवा नै लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेः रामचन्द्र पौडेल
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।
सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस पछि हटेको टिप्पणी उहाँले गर्नुभयो । बिहिबार आफ्नै निवासमा संचारकर्मीहरुसँग बोल्नुुहुँदै नेता पौडेलले संस्थागत रुपमा पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यस तर्फ आलटाल गरेको नेता पौडेलले बताउनुभयो । उहाँले सरकारको मात्रै नभई पार्टी नेतृत्वको पनि चर्को आलोचना गर्नुभयो । यस्तै नेता पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप पनि लगाउनु भयो । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको टिप्पणी गर्नुभयो । खिम विक्रम शाही प्रकरणको स्वतन्त्र छानवीन हुनुपर्ने पनि नेता पौडेलले बताउनु भयो ।