एमसिसी सम्झौतालाई अघि बढाउन दलहरुलाई प्रधानमन्त्रीको आग्रह
४ वैशाख , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरुको छलफलमा उहाँले संसदमा लामो समय देखि संसदमा विचाराधिन रहेको एमसिसि सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिनुभयो । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताउनुभयो । उहाँले एमसीसी लाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताउनुभयो । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो ।