विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार डिसिसिएमसीलाई
३ वैशाख, काठमाडौं । कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई भएको शिक्षा मन्त्रालयले बताएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँ विशेषको कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डिसिसिएमसीले गर्न सक्ने बताएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेश अनुसार भौतिक रुपमा अथवा वैकल्पिक रुपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उहाँले बताउनुभयो । मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ । विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ अनुरुपको सिकाईका विभिन्न विधि अवलम्वन गर्न मन्त्रालयको आग्रह छ । प्रतिकुल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन समेत मन्त्रालयले आग्रह गरेको छ । सम्बन्धित पालिका तथा विद्यालयहरुले वैकल्पिक सिकाइको ढाँचाहरुको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताउनुभयो ।