अपर तामाकोशीमा भइरहेको ढिलाई सैह्य नहुनेः प्रधानमन्त्री ओली
२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य नहुने बताउनुभएको छ ।
बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताउनुभएको हो । अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैँया नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफुले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुनेगरी उत्पादन भएको भएपनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताउनुभयो । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकार लागेको पनि बताउनुभयो । विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग र सचेत हुनका लागि सबैलाई आग्रह समेत गर्नुभयो ।