प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा केपी ओली रहेः प्रचण्ड
१७ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताउनुभएको छ ।
मंगलबार २०औँ जेल ब्रेक दिवसको अवसरमा आयोजित अन्र्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले देशको संविधानमाथि प्रतिक्रियावादीहरुले प्रहार गरेको र त्यसको प्रतिनिधिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको बताउनुभएको हो । देशको राजनीतिक उपलब्धीहरुलाई उल्ट्याउने षड्यन्त्र र कसरतहरु भइराखेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । संसद विघटनको घटना सामान्य घटना मात्रै नभइ जनयुद्ध र जनआन्दोलनको बलमा आएका परिवर्तनलाई उल्ट्याउने षडयन्त्रको हिस्सा भएको पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले फागुत २३ गते गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को खारेज गर्ने फैसलाको विरुद्धमा पुनरावलोकनमा गएको भन्दै सर्वोच्चले आफ्नो फैसलालाई पुनरावलोकन गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले नेकपा(एमाले) का नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरु पनि पुनरावलोकनको पक्षमा रहेको भन्दै पुनरावलोकनको पक्षमा रहेको बहुमतलाई सर्वोच्चले ध्यान दिनुपर्ने बताउनुभयो । अदालतको फैसलामा असहमती जनाउँदै आफुहरु पुनरावलोकनमा गएको भएपनि सर्वोच्च अदालतको फैसलालाई आफुहरुले मान्ने उहाँको भनाई छ ।