फैसलाको पुनरावलोकनको माग गर्दै प्रचण्डद्वारा सर्वोच्चमा निवेदन दर्ता
१७ चैत्र, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला विरुद्धमा नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका नेताहरु र वरिष्ठ अधिवक्ताहरु सहित सर्वोच्च पुगेर निवेदन दर्ता गराउनु भएको हो । निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले पार्टीको नाम सम्बन्धी विवादमा परेको मुद्दामा भएको फैसला अस्वभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको रहेको बताउनुभयो । त्यसैले आफ्नो दलले फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराएको बताउनुभयो । अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्वको निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानका लागि एक्तावद्ध भएका दलहरुलाई विभाजित गर्ने गरी अदालतबाट भएको राजनीतिक निर्णय सच्चिने विश्वास समेत व्यक्त गर्नुभयो । पार्टीको नाम सम्बन्धी मुद्दामा रिट निवेदकको समेत एकता टुटोस भन्ने चाहना नभएकाले पनि फैसला सच्याउने विश्वास गरिएको बताउनुभयो । अध्यक्ष प्रचण्डले अवको केही दिन भित्रमै उक्त फैसला सच्याउने विश्वास समेत व्यक्त गर्नुभयो । निवेदन दर्ताका लागि अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायतका नेताहरु सर्वोच्च अदालत पुगेका थिए । फागुन २३ गते न्यायाधीशहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएको थियो । सर्वोच्चले दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिन भित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न समेत भनेको थियो ।