गुटगत रूपमा प्रस्तुत हुने समूहसँग डिलिङ नगर्नेः प्रधानमन्त्री ओली
१३ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको फागुन २८ गतेपछिका संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ गतेपछि संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने बताउनुभएको हो । यस्तै उहाँले संशोधनसहित पारित भएको पार्टीको विधानलाई फेरि तलमाथि गर्न सकिने अवस्था नरहेको बताउनुभएको छ । यस्तै प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष ओलीले गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । यस्तै शुक्रवारको बैठकमा खनाल–नेपाल समूहले उपलब्ध गराएको स्पष्टीकरणबारे पनि छलफल भएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । उहाँहरूको स्पष्टीकरण प्राप्त भएको र त्यस आधारमा नेपाल समूहका नेताहरूलाई कारबाही गर्न योग्य बनाएको प्रधानमन्त्री ओलीले बताउनुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो । प्रमुख सचेतक भट्टराईका अनुसार शुक्रवारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आउँदो वर्षको बजेट निर्माणमा आवश्यक सुझावसमेत माग्नुभएको थियो ।