ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्नेः नेता नेपाल
१० चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधाव कुमार नेपालले अध्यक्ष ओलीसँग आत्मसमर्पण नगर्ने बताउनुभएको छ ।
मंगलबार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताउनुभएको हो । उहाँले स्पष्टिकरणबाट आफूहरु नतर्सेको समेत बताउनुभयो । ओली पक्षले सोधेको स्पष्टिकरणबाट भागेर मैदान नछाडने र पार्टी नफुटाउने पनि नेता नेपालले बताउनुभयो । अध्यक्ष ओली पार्टी विभाजनको पक्षमा रहेपनि आफूले पार्टी नफुटाउने स्पष्ट पार्नुभयो ।नेता नेपालले नेकपा एमाले आफूहरुको भएको पनि बताउनुभयो । केपी ओली बि–माले, सि–माले भएकाले पार्टी छोडेर गए हुने टिप्पणी गर्नुभयो । केपी ओली र आफूहरुको बीचमा प्रवृति र विचारको लडाई भएको पनि नेता नेपालले बताउनुभयो । ओलीमा व्यक्तवादी प्रवृति रहेको र आफू जहिले सङ्गठनलाई केन्द्रमा राखेर सोच्ने गरेको बताउनुभयो ।