पहिचान र अधिकारको मुद्दा छोडिनः प्रचण्ड

स्वर्णिम खबर
८ चैत्र २०७७, आईतवार १८:३६

८ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पहिचान र अधिकारको मुद्दा नछोडेको बताउनुभएको छ ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चा द्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस(२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताउनुभएको हो । दलित र महिलालाई विशेषाधिकार दिनको निम्ति आफुले पहल गरेको पनि उहाँको भनाई छ । विशेषाधिकारबिना महिला र दलितहरुले बास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइनटमा नै नोट अफ डिसेन्ट राखि भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भएपनि आफुले मुद्दा छाडेको भनि प्रचार भएको उहाँको भनाई छ । प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उहाँले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिबासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताउनुभयो । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उहाँले आरोप लगाउनुभयो । नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाई छ । दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उहाँले त्यसको विरुद्ध आफु बाचुञ्जेल लड्ने पनि बताउनुभयो । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*