कांग्रेस सरकार गठनका लागि गणित पर्खदैः प्रवक्ता शर्मा
५ चैत्र, काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।
वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिनुभएको हो । उहाँले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पार्नुभयो । यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उहाँले बताउनुभयो । वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने न्युज एजेन्सी नेपालको प्रश्नमा उहाँले आफैसंग भएको सांसद संख्या र अन्यदलहरु भित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले पार्टीले पनि धारणा तय नगरेको स्पष्ट पार्नुभयो । उहाँले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने बताउनुभयो । उहाँले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गर्नुभयो । उहाँले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भएपनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको तर्क गर्नुभयो । राजनीतिक वृतमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमन तिर लैजाने प्रधानमन्त्रीलाई विधाई गर्ने हो भने सबै दलहरु प्रधान एजेण्डाका साथ आउनुपर्ने धारणा उहाँले राख्नुभयो । प्रधानमन्त्री पदले नेपाली कांग्रेसको पार्टीको ढोका ढकढकाएको भएपनि त्यसका लागि आवश्यक पृष्टभूमि भने तयार नभईसकेकाले सरकार गठाको सुनिश्चितताका लागि आवश्यक गणितिय कुरा नमिलेसम्म कांग्रेसले अग्रसरता नदेखाउने स्पष्ट पार्नुभयो ।