सभामुख सेटिङमा चलेको प्रधानमन्त्रीको आरोप
३ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा सेटिङमा चलेको र संविधान कार्यान्वयनप्रति उदासिन भएको आरोप लगाउनुभएको छ ।
एमाले केन्द्रीय सदस्यका लागि मंगलबार बालुवाटारमा आफैंले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि अवरोध गरिएको बताउनुभयो । उहाँले सभामुख संविधान कार्यान्वयनप्रतिको जिम्मेवार पुरा नगरेको दाबी गर्नुभयो । आफुले सधै संसदलाई नेताहरुको स्वार्थ तथा दलिय र गुटगत खिचातानीको थलो नभई जनताको हितका लागि प्रयोग गरौ भन्दै आएको भएपनि संसदलाई सो ढंगले चलाउन नदिएएको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी नेतृत्वका विरुद्ध आफुखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टी विधिविधान अनुसार चल्ने भन्दै उहाँले मनपरि गर्ने छुट कसैलाई नभएको बताउनुभयो । कानुनका नजरमा सबै समान हुने भन्दै उहाँले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गर्नुभयो ।उहाँले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गर्नुभयो ।