नेपाल र ओली समुहबीचको वार्ता निष्कर्षविहिन
२ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्ष विहिन भएको छ ।
पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकतावद्ध गर्दे अघि बढाउने प्रतिवद्धता जनाएपनि आ आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकिककरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा पुर्ववत् रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयहरुको प्रभाव शुन्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । सो प्रस्ताव अनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताहरुले दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको प्रतिक्रिया दिनुभयो । नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलावहरुको प्रभाव शुन्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिनुभयो । सर्वोच्च अदालतको फैसला मान्ने हो भने फैसलापछिका सम्पुर्ण क्रियाकलाप को प्रभाव शुन्य हुनुपर्ने र त्यो गर्न आफुहरु तयार रहेपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली तयार नभएको नेता रावलले बताउनुभयो । विशेष गरि अध्यक्ष ओली २८ गतेको निर्णयबाट पछि हट्न नखोजेको उहाँले बताउनुभयो । उहाँले आफुहरु नेकपाको विधान पद्धति अनुसार भएका कामकारवाहीमा साझा रुपमा मानेर अघि बढ्न तयार भएपनि अध्यक्षले आफुले गरेका कामलाई चाही गरिहाल्ने अनि अरु कुरा मानिदिनुपर्ने भन्ने भाव देखाएकाले त्यस्तो कुरा आफुहरुलाई स्वीकार्य नहुने बताउनुभयो । नेता घनश्याम भुसाल पार्टीको पुर्ववत अवस्थामा फर्किऔ भन्ने प्रस्तावमा कुरा नमिलेपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । उहाँले अपेक्षाकृत बैठक नभएको र एजेण्डाका दृष्टिकोणबाट सार्थक नभएको बताउनुभयो । अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ्गले पार्टी एकतावद्ध गरेर जाने भन्नेमा सबैको एकमत भएपनि पछिल्ला राजनीतिक विषयमा नेताहरुबीच मतान्तर रहेको बताउनुभयो । त्यसैगरी महासचिव ईश्वर पोख्रेलले एमालेलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताउनुभयो । २८ गतेको निर्णयका सम्बन्धमा संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले अर्याल होटलमा भएका कुरा, ४ र ७ गतेका कार्यक्रमको पनि कुरा आउँछ नि भन्दै नेता नेपाल पक्षले गरेको क्रियाकलापको कुरा उठाउनुभएको थियो ।