कसैले हटाए बिस महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबार प्रवेश गर्छुः प्रधानमन्त्री ओली
२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिनुभएको छ । हटाउन सके हटाएर देखाउन उहाँले चुनौती दिनुभएको हो । कसैले हटाएपनि नेकपा(एमाले) बिस महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उहाँको भनाई छ । उहाँले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताउनुभयो । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान गर्नुभएको छ । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडी बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गर्नुभएको छ । एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने पनि उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भएपनि आफुहरुले जस्तो काम गर्ने पार्टी कुनै नभएको दाबी समेत गर्नुभयो ।