मकवानपुर ११ को बिजयी सुरुवात, सिमरा ४–१ गोलअन्तरले पराजित
२७ फागुन, हेटौंडा । हेटौंडामा सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक टोली मकवानपुर ११ ले बिजयी सुरुवात गरेको छ ।
हेटौंडा १० स्थित फरेष्टी मैदानमा बिहिबार भएको उद्घाटन खेलमा आयोजक मकवानपुरले नवजनजागृति युवा क्लब सिमरालाई ४–१ गोलअन्तरले पराजित गरेको हो । मकवानपुरको जितका लागि विमल रानाले दुई तथा रञ्जन विष्ट र अमिर श्रेष्ठले एक÷एक गोल गरे । यस्तै नवजनजागृति युवा क्लबका तर्फबाट मोहित गुरुङले एक मात्र सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच मकवानपुर ११ का विमल राना घोषित भए । उनले नगद दशहजार रुपैया प्राप्त पुरस्कार गरे । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिताको उद्घाटन हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गरेका थिए । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफसलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।