मर्न परेपनि केपी प्रवृत्तिलाई छाड्दिनः प्रचण्ड

स्वर्णिम खबर
२७ फाल्गुन २०७७, बिहीबार १७:१६

२७ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्न परेपनि तयार भएर केपी प्रवृत्ति माथि प्रहार गरेको बताउनुभएको छ ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न परे पनि तयार रहेर केपी प्रवृत्ति माथि प्रहार गरेको बताउनुभएको हो । केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभुति भएको उहाँको भनाई छ । देशको राजनीतिक परिवर्तनमाथि षडयन्त्रले हमला भइराखेको भन्दै उहाँले सजग भएर त्यस विरुद्ध आफ्नै खुट्टामा उभिएर लड्नुपर्ने बताउनुभयो । अरुसँग एकिकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै उहाँले आगामी दिनमा पुराना साथीहरु एकताबद्ध गरेर अगाडी बढ्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धी र आन्दोलनको रक्षाको निम्ति आफुले देशव्यापी अभियान चलाउने समेत बताउनुभयो । दुईचार वर्ष जनताको बिचमा गएर अभियान सञ्चालन गर्ने उहाँको भनाई छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले उमेरको कारणले आफु पछि नहट्ने पनि बताउनुभयो । अझैपनि क्रान्तिमा अगाडी बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफुले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताउनुभयो । आगामी केन्द्रिय समितिको बैठकले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*