माओवादी केन्द्रको निर्णयः संसद र सरकारबारे कांग्रेस र जसपासंग छलफल गर्ने
२५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संसद,सरकार,राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संग छलफल गर्ने भएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बसेको स्थायी कमिटीको बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपासंग प्राथमिकताका साथ छलफल र वार्ता गर्ने निर्णय गरेको हो । त्यसपपछि आवश्यकताको आधारमा नेकपा एमालेसंग पनि वार्ताको प्रक्रिया अघि बढाउन सकिने निर्णय बैठकले गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी बैठकले संगठनात्मक कामका सम्बन्धमा अहिलेको परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले यसअघि निर्वाचन आयोगमा बुझाएका केन्द्रीय सदस्यहरुको बैठक बस्ने पनि नेता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पार्टीसंग छलफल गरेपछि राजनीतिक परिस्थितिको गम्भीर समिक्षा गरेर मात्रै सरकारलाई दिएको समर्थनका बारेमा पार्टीले निर्णय गर्नेछ । बैठकले सरकार गठन र सरकारमा रहेका सांसदहहरुको सवालमा भने ठोस निर्णय गरेको छैन । सरकारमा रहेका सांसदहरुले पहिला आफ्नो दृष्टिकोण र भूमिकाका बारेमा स्पष्ट पारेपछि मात्रै बैठकले निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो ।सर्वोच्च अदालतको फैसला पछि माओवादीलाई राजनीतिक घाटा लाग्या हो भन्ने प्रश्नमा उहाँले एकीकृत पार्टीका तर्फबाट गर्न सक्ने काम गर्न नसकेर क्षति पुगेको भएपनि संगठनमा त्यसले असर नपर्ने प्रतिक्रिया दिनुभयो ।