आफु प्रधानमन्त्रीको दौडमा नरहेको देउवाको स्पष्टोक्ती
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।
शनिबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्ड को विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको हो । आफुहरुलाई विपक्षमा बस्ने म्याण्डेड भएको भन्दै प्रधानमन्त्री बन्न नचाहेको उहाँले बताउनुभयो । विपक्षी दलको नेता भावि प्रधानमन्त्रीको रुपमा रहने भएपनि आफुलाई प्रधानमन्त्रीको लोभ लालच नभएको उहाँको भनाई छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा भित्रको प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन । सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्रीको रुपमा हेरिएको बेलामा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।