नेपालमा अब हिंसात्मक द्धन्द छैनः प्रधानमन्त्री ओली
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संगको सहमति संगै नेपाल शान्तिपुर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ ।
संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सहमतिले संगै नेपालमा अब हिंसात्मक द्धन्द छैन भन्ने संदेश दिएको बताउनुभएको हो । उहाँले अघिल्लो बर्ष सिके राउत संग भएको सहमति स्मरण गर्दे शान्तिपुर्ण युग प्रवेशको अन्तिम किस्ताको रुपमा विप्लव संगको सहमति भएको बताउनुभयो । राष्ट्रिय राजनीतिको मुलधारमा प्रवेश गरेको बधाई अनि धन्यवाद दिदै प्रधानमन्त्री ओलीले यो राजनीतिमा विप्लव सफल हुने विश्वास आफुले लिएको बताउनुभयो ।आफ्ना कार्यकर्तालाई पुर्वनिर्धारित कार्यदिशा र बाटोबाट मोड्न सफल भएकोमा पनि उहाँले विप्लवको प्रसंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले शान्तिपुर्ण राजनीतिमा आएर एैतिहासिक र शाहसिक काम गरेको भन्दै आफ्नो सम्बोधनभरी पटक पटक नेकपाका महासचिव विप्लवलाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री ओलीले बिप्लव समूहसंग भएको सहमति फोर्सफुल नभएको स्पष्ट पार्नुभयो । उहाँले लामो प्रयासपछि मात्रै वार्ता सफल भएको बताउनुभयो । यो रातारात भएको नभई लामो समयसम्मको वार्ताप्रतिको गम्भीरताका कारण भएको स्पष्ट पार्नुभयो ।सम्मृद्ध नेपाली सुखी नेपाली बनाउने सपनाहरुलाई पुरा गर्ने अझै प्रवल संभावनाहरुको बाटोमा विप्लबले योगदान पुर्याएको बताउनुभयो । सहमतिमा उल्लेखित ३ बुँदा नै सहमतिका लागि पर्याप्त भएको पनि उहाँले दाबी गर्नुभयो । गतबर्ष पृथकतावादी आन्दोलनमा लागेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको स्मरण गर्दे उहाँले फरक शैली र भाषामा हुर्किएकाहरु एकै ठाउँमा आउँदा भाषा मिलाउन केही समय लागेपनि अन्तत सबै सम्मृद्ध नेपाल सुखी नेपालीकै बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । आफुले ४० बर्ष अगाडि शान्तिपुर्ण राजनीतिको बाटोलाई अंगिकार गरेको स्मरण गर्दे उहाँले विप्लव संगको सहमति विश्वकै कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक दृष्टान्त बन्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिको मुलधारमा नेता विप्लब सफल हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले वार्ता सफलतामा पुर्याएकोमा दुवै तर्फका वार्ता टोलीका सदस्यहरुलाई पनि धन्यवाद दिनुभयो ।