तीन बुँदे सहमति पालना गर्न आफुहरु प्रतिबद्धः विप्लव
२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमती पालना गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमतीमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको हो । आफ्नो पार्टीले सहमती पालन गर्ने भन्दै उहाँले कसैले पनि आशंका गर्न आवश्यक नरहेको बताउनुभयो । कम्युनिष्टहरु आफ्नो मानयता देश माथि हस्तक्षेप भएको महशुस हुँदा बिद्रोह गर्ने र राज्यले बदलिएको परिस्थितिमा आफ्नो भुमिका पुरा गरेको स्थितिमा कमयुनिष्टहरु शान्तिको दुत बन्ने पनि उहाँको भनाई छ । महासचिव विप्लवले देशलाई आत्मनिर्भर, स्वाधिन र सुन्दर बनाउने सपना सहित सहमती भएको दाबी गर्नुभयो । देशमा शान्ति, स्थिरता र समृद्धिको आकांक्षा सहित सहमती गरिएको उहाँको जिकिर छ । महासचिव विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताउनुभयो । कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि उहाँले जनताले स्वतन्त्रतापूर्वक कदम चाल्नको लागि जनतालाई जनमतको अधिकार दिनुपर्ने बताउनुभयो । नेपालमा कसैले पनि सुरक्षित महसुस नगरेको तथा नेताहरुले समेत आफैले नेतृत्व गरिरहेको जस्तो अनुभुति नगरेको भन्दै उहाँले जनतालाई मतको अधिकार दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले शहिदले देखेको परिवर्तनको सपना पुरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो । सरकारसँगको सहमतीपछि आफ्ना नेता कार्यकर्ता जेलबाट छुट्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । महासचिव विप्लवले सबैसँग सहकार्य, हातेमालो गरेर अगाडी बढ्न तयार रहेको स्पष्ट पार्नुभयो । विदेशीले हस्तक्षेप गरेमा जीवन धरतीमा गाडिएपनि सम्झौना नहुने प्रतिबद्धता उहाँको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव दुई बर्ष भन्दा बढी समयपछि शुक्रबार काठमाडौंमा सार्वजनिक हुनुभएको हो ।