प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी सुरु
१६ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो । संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान दिइएको उहाँको भनाई छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको बताउनुभयो । स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उहाँले बताउनुभयो । त्यसैगरी प्राविधिक रुपमा पनि तयारी गरीएको बताउनुभयो । संसद सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताउनुभयो । बैठकको व्यवस्थापन सहज, सुरक्षित र कुनैपनि झन्झट र कठिनाई बिना अप्ठ्यारो नआओस् भनेर तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक आव्हान गरिसकेको अवस्था छैन । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । यद्यपी सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने फैसला गरेको थियो ।