ओलीले आफूलाई महाराजधिराज सम्झिएको प्रचण्डको टिप्पणी
१५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल विर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई अहिले केपी ओलीले साथ दिएको पनि बताउनुभयो । आफू सत्तामा पुग्नका लागि जस्तो पनि सम्झौता गर्ने र सम्झौता भइसकेपछि कार्यान्वयन नगर्ने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । कम्युनिष्ट पार्टीकै नेतृत्वबाट बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्री ओलीबाट निर्मम खालको प्रहार भएको पनि बताउनुभयो । यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पार्नुभएको छ । ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागि भएकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । अहिले प्रतिनिधि सभा पुनस्थापना भएपनि पुरै लडाई जित्न बाँकी रहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले मदनभण्डारी फाउण्डेसनको गुट चलाएको आरोप समेत अध्यक्ष नेपालले लगाउनुभयो ।