तथ्य र प्रमाणको आधारमा जो सुकैलाई कारबाही गर्छौंः अख्तियार प्रमुख राई
१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरुभन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताउनुभएको हो । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहटने बताउनुभयो ।आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताउनुभयो ।