सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उपप्रधानमन्त्री पोखरेलको चुनौती
१४ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका सचिवालय सदस्य ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ ।
शुक्रबार नेकपा ओली पक्षिय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षलाई चुनौती दिनुभएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक विधिबाट आउने अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताउनुभयो । अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने पनि बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पार्नुभयो । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उहाँको दाबी छ । सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको, राजनीतिक अस्थिरता निम्त्याउने, आर्थिक समृद्धिमा बाधा पु¥याउने, अराजकतालाई बढावा दिने तथा मुलुकको राष्ट्रियता र स्वाभिमानको पक्षलाई कमजोर बनाउने बताउनुभयो । त्यसैगरी, कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताउनुभयो ।