लिखित जवाफ लिएर प्रधानमन्त्री ओली सर्वोच्चमा
६ फागुन, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेश गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार सर्वोच्च अदालतमा उपस्थित भई अवहेलना मुद्दाको लिखित जवाफ पेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको बेलामा संवैधानिक इजलासमा भइरहेको बहसलाई तमासा को संज्ञा दिनुभएको थियो । रिट निवेदकको पक्षमा बहस गर्नुभएको ९४ वर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै दर्ता गराएको अवहेलना मुद्दामा माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले अवहेलना मुद्दाको जवाफ दिन अदालत आउनुले हाम्रो देशमा कानूनी शासन छ र प्रधानमन्त्रीले कानूनलाई सम्मान गर्नुभएको छ भन्ने देखाएको बताउनुभयो । अधिवक्ता न्यौपानेले प्रधानन्त्री ओली अदालतमा लिखित जवाफसहित स्वयं उपस्थित हुनुले अदालतको सम्मान हुनुका साथै प्रधानमन्त्री पदको पनि सम्मान भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कानूनी शासन र संविधानप्रति दृढ छु भन्ने शन्देश दिनुभएको पनि अधिवक्ता न्यौपानेले बताउनुभयो ।