सत्तारुढ दलकै नेताले अवरोध गरेपछि संसद् विघटन गरेँः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
३ फाल्गुन २०७७, सोमबार १४:४२

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।
भुकम्पले क्षतिग्रस्त भई पुर्ननिर्माण भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भवनको सोमबार शिलन्यायस गर्दै उहाँले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर त्यस प्रकारको निर्णय गरेको बताउनुभएको हो । उहाँले आफ्नो ३ बर्षे सरकार सञ्चालनका समयमा सरकारले गरेका कामहरुको प्रगति विवरण पेश गर्दे विकास निर्माण र मानवविकास सुचकांकका आधारमा निराश हुनुपर्ने अवस्था नभएको बताउनुभयो । उहाँले अझै पनि मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता आफुसंग भएको बताउनुभयो ।
उहाँले आफ्नै पार्टी भित्रबाट जनताका अगाडि कबुल गरेको जिम्मेवारी पुरा गर्न नदिने स्थिति पैदा भएपछि ताजा जनादेशमा जाने निर्णयमा पुगेको दोहोर्याउनुभयो । सुरुबाट नै सरकार सञ्चालनमा आफ्नै पार्टी भित्रबाट असहयोग हुदै आएको भन्दै उहाँले आफ्नै खुट्टा अल्झिएर लड्ने अवस्था आएपछि देश र जनताको हितलाई प्राथमिकतामा राखेर प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पार्नुभयो । उहाँले पार्टी भित्रैका केही नेताहरुले समानान्तर सरकार खडा गर्ने काम गरेको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेर सरकारले अलोकतान्त्रिक बाटो नरोजेको दाबी गर्नुभयो । ताजा जनादेशको लागि जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक हुन नसक्ने भन्दै उहाँले सरकारले अलोकतान्त्रिक क्रियाकलाप नगर्ने प्रतिवद्धता दोहोर्याउनुभयो । अघिल्लो जनादेशबाट आएका पात्रहरु उपयुक्त नभएकाले निर्वाचनमा गएर नया पात्र चयन गरि प्रणालीमा सुधार गर्ने उद्घोष गर्नुभयो । समय अगावै निर्वाचनमा जानु भनेको जनादेशप्रतिको अवहेलना नभई सम्मान भएको पनि उहाँले दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफुले सरकारको नेतृत्व गरेपछि गरेका विभिन्न कामहरुको फेयरिस्त नै राख्नुभयो । यो अवधिमा ८९ नया कानुन निर्माण भएको, संविधान सम्मत नभएका सयौ कानुनहरु संशोधन भएको तथा केन्द्र र प्रदेशस्तरीय वित्तिय व्यवस्थापनका लागि आवश्यक कानुन, कार्यविधि निर्माण भएको जानकारी उहाँले दिनुभयो । आफुले सरकारको नेतृत्व लिने बेलामा अर्थतन्त्र अस्तव्यत, छरिएको, भद्रगोल र अन्यौलमा रुमलिएको अवस्थामा रहेकाले र आफुले त्यसकिसिमको अर्थतन्त्रलाई सम्हालेको उहाँले बताउनुभयो । उहाँले आफुले सरकारको नेतृत्व सम्हालेको पहिलो बर्ष मुलुकले ७ प्रतिशत, दोश्रो बर्ष ७ भन्दा माथिको आर्थिक बृद्धि हासिल गरेको तथा ७ वटा प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशत भन्दा माथि रहेको दाबी उहाँले गर्नुभयो । उहाँले कोरोनाका कारण केही समय प्रभावित भएपनि मुलुक पुन उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भईसकेको दाबी गर्नुभयो । अर्को बर्ष १० प्रतिको आर्थिक बृद्धि हुने संकेत देखिएको दाबी पनि उहाँले गर्नुभयो । उहाँले ३ बर्षको अवधीमा २९ प्रतिशतले सार्वजनिक खर्चमा वृद्धि भएको ,९ लाख भन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाईएको ,नेपालमा गरिबी नबढेको, भोकमरी नबढेको,सबै स्थानीय तहमा वित्तिय सेवा पुगेको,व्यवसायीक आयकरको दायारा ५२ दशमलब २ प्रतिशतले बढेको , बिमा सेवाको विस्तार २२ दशमलब ७ प्रतिशत पुगेको तथा कोभिडको महामारीमा पनि ५ प्रतिशत मात्रै मुल्यवद्धि भएको दाबी उहाँले गर्नुभयो । प्रधानमन्त्री ओलीले भुकम्पले क्षति पुर्याएका सरकारी भवनहरुको पुर्ननिर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको बताउनुभयो । हुलाकी राजमार्ग, रेल आयोजना, मध्यमार्ग, लोकमार्ग, उर्जा उत्पादन तथा वितरण, हाईड्रोपावर आयोजना लगायत क्षेत्रभएको विकास र विस्तारको विवरण पनि उहाँले प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री कृषिआधुनिकी करण बार्षिक अनुदान १० अर्ब भन्दा माथि पुर्याईएको, दुध, माछामासु, तरकारी लगायत उत्पादनको वृद्धि अनुपात पनि उहाँले प्रस्तुत गर्नुभयो । उहाँले बैदेशिक लगानी, उद्योगधन्दाको विस्तार, इन्टरनेट, टेलिफोन , विमानस्थल निर्माण तथा विस्तार शिक्षा स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको बताउनुभयो । प्रधानमन्त्रीले अन्तराष्ट्रिय अध्ययन प्रतिवेदनहरुले नेपाललाई लगानीको वातावरणमा सुधार, शिक्षा स्वास्थ्य खानेपानी, सामाजिक सुरक्षाको वातावरण लगायतमा राम्रो सुधार भएको देखाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुने बताउनुभयो । निर्वाचनका लागि आयोगले पनि आवश्यक तयारी गरिरहेको भन्दै उहाँले सबै नेपालीलाई निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीलाई पनि निर्वाचनमा सहभागी हुन आमन्त्रण गर्नुभयो । उहाँले प्राप्त उपलब्धिलाई हेर्दा निराश हुनुपर्ने अवस्था नभएको र निर्वाचन पछि मलुकले स्थिर सरकरा र राजनीतिक स्थायित्व प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन पछि सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*