निर्वाचन आचारसंहित बारे आयोगद्वारा राजनीतिक दलहरुसंग छलफल

स्वर्णिम खबर
२ फाल्गुन २०७७, आईतवार १८:४१

२ फागुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहित २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरुसंग छलफल गरेको छ ।

आईतबार आयोग परिसरमा आयोजित छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए । राजनीतिक दलका अधिकांश प्रतिनिधिले निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि आचारसंहिता पालना भए नभएको अनुगमन चुस्त हुन नसकेको तथा आचारसंहिता उल्लघंन गर्नेमाथि कारवाही गर्ने नगरेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराएका थिए । उनीहरुले आचारसंहिता कडाईका साथ कार्यान्वयन गराउन र उलंघन गर्नेहरुमाथि विद्यमान व्यवस्था अनुसार कारवाही गर्न पनि माग गरे ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले भने निर्वाचन आचारसंहिता उलंघन गर्ने सरकारलाई कारवाही नगरेको आरोप लगाएको छ । उसले आयोगको कार्यशैलीप्रति आशंका समेत व्यक्त गरेको छ । छलफलमा सहभागी नेता लिलामणि पोखरेलले आफैले निर्वाचन घोषणा गरेर आफै आचार संहिताको उलंघन गर्ने सरकार प्रति आयोग मौन बसेकाले उसको भूमिका प्रति शंका उब्जिएको प्रतिक्रिया दिनुभयो । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले आचारसंहितामाथिको छलफलको क्रममा विभिन्न सरकारी कार्यालय तथा आयोगमा नियुक्ति, बढुवा, सरुवा लगायत काम नियमित प्रक्रियाको बहानामा गर्न नहुने भएकाले त्यस तर्फ ध्यान दिन आयोगको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले सरकारले मिति तोकिसकेकाले निर्वाचनका लागि आयोगको तयारीलाई रोक्न नमिल्ने प्रतिक्रिया दिनुभयो । छलफलमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका शुशिल श्रेष्ठले आचारसंहिताको पूर्ण परिपालन गर्न आयोगको ध्यानाकर्षण गराएको बताउनुभयो । आजसम्म आचारसंहिता उलंघन गरेकालाई कहिलेही कारवाही नगरिएको भन्दै उहाँले अक्षरश आचारसंहिता पालना गराउने तर्फ सक्रिय बन्न आयोगलाई सुझाव दिएको जानकारी दिनुभयो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले तयार पारेको आचारसंहिता माथि छलफल गरिएको र केही दलले लिखित सुझाव पनि दिएको बताउनुभयो । उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरि आयोगले तयारी अघि बढाएको स्पष्ट पार्नुभयो । नेकपा विवादका सम्बन्धमा संचारकर्मीको जिज्ञासामा उहाँले प्राप्त निवेदनको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको र छिटै निर्णय गर्ने पनि जानकारी दिनुभयो ।आयोगले विगतको भन्दा विस्तृत रुपमा आचारसंहिता निर्माण गरिएको जनाएको छ । आचारसंहितामा निर्वाचन प्रचार सामाग्री र खर्च व्यवस्थापनलाई नियन्त्रित गरेपनि हेलिकप्टर चार्टर गरेर निर्वाचन प्रचारमा जान सक्ने व्यवस्था राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*