सहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रचण्डको चेतावनी

स्वर्णिम खबर
१ फाल्गुन २०७७, शनिबार १३:३२

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायीत्व कायम गरी विकास तर्फ लैजाने ऐतिहासिक पहलकदमी माथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको छ ।

जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहिदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको हो । उहाँले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकार विरुद्ध लाग्ने चेतावनी दिनुभयो । उहाँले सहिदको बलिदानीलाई कुल्चने दुश्साहस नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी नै दिनुभयो ।
उहाँले सबै जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णयलाई कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिवद्धता जनाउनुभयो । आफु पहिलो चोटी संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रीपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेपनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उहाँले स्वीकार गर्नुभयो । कार्यक्रममा सबै सहिद र सहिदका परिवारको सम्मानको प्रतिकका रुपमा सहिद की आमालाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*