संसद पुर्नस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन देउवाको निर्देशन
२९ माघ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउनुभएको छ ।
पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले संसद विघटनको मुद्धा अदालतमा विचाराधिन भएकाले यस बारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताउनुभयो । उहाँले चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले आगामी दिनमा आउनसक्ने संसद पुर्नस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै उहाँले पुर्नस्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको बताउनुभयो । यस्तै नेपाली कांग्रेसका सहमहामन्त्रि प्रकाशशरण महतले कम्युनिष्टहरुले निर्वाचन जितेसम्म नेपालमा समृद्धि नआउने बताउनुभयो ।